Nov 9, 2011

समायोजनमा जाँदा माओवादीले जनसेनाले बेहोहर्नुपर्ने कठिनाई यस्तो छ

अधिकांश लडाकू कमाण्डर समायोजनबाट बञ्चित हुने

सेकेण्डम्यानको दावी नछाड्ने


साढे ६ हजार माओवादी लडाकु नेपाली सेनामा समायोजन गर्ने सहमति भएपनि धेरै लडाकू कमाण्डर तथा सहकमाण्डरहरु समायोजनका लागि अयोग्य ठरिहने भएका छन् ।
सात बुँदे सम्झौतामा उल्लेखित शिक्षा र उमेर हद र सेवा अबधि लगायतका सर्तले माओवादी कमाण्डरका लागि नेपाली सेनामा जाने ढोका बन्द हुने भएको छ । लडाकुका सात जना डिभिजन कमाण्डर मध्ये ३ जनाले मात्र प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन भने १६ जना डिभिजन सहकमाण्डर मध्ये ३ जनाले स्तानक तह उत्तीर्ण गरेका छन् र अरु ४ जनाले प्रविणता प्रमाणपत्र तह पास गरेका छन् ।
सातबुँदे सहमति अनुसार लडाकुको शैक्षिक योग्यता गणना गर्दा उनीहरु जनमुक्ति सेनामा भर्ना हुनुअघिको योग्यतालाई लिइने उल्लेख छ । तर लडाकुको शैक्षिक स्तर एक तह कम भएपनि हुने प्रावधान छ । जसअनुसार लडाकुले जनमुक्ति सेनामा सामेल हुने बेला एसएलसी उत्तीर्ण गरेको भए उसको शैक्षिक योग्यता प्रविणता सरह हुनेछ ।
त्यस्तै लडाकुको लागि उमेर हदको हकमा ३ वर्षको छुट दिइएको छ । जसअनुसार २४ वर्षको लडाकुलाई समायोजनका बेला २१ वर्षको मान्यता दिइनेछ । लडाकुको सेवा अवधि जनमुक्ति सेनामा प्रवेश गरेदेखिको गणना हुनेछ । जसअनुसार यदि २४ वर्ष वा सो भन्दा मुनिको एसएलसी उत्तीर्ण कुनैपनि लडाकु आजभन्दा १० वर्षअघि जनमुक्ति सेनामा प्रवेश गरेको भए उसको योग्यता १० वर्षअघि सेनामा भर्ती भएको सेकेण्ड लफ्टनको सरह हुनेछ । अधिकृत तहको समायोजनमा यसरी दश वर्षमा उक्त लडाकु यदि सेनामा भएको भए बढुवा भएर कुन तहमा पुग्थ्यो भन्ने कुरालाई विचार गरी सोही तहमा समायोजन गरिनेछ ।
सात बुँदे सहमतिकै प्रावधानअनुसार समायोजन गर्ने हो भने कुनैपनि लडाकु नेपाली सेनाको मेजर भन्दा माथिल्लो पदमा समायोजन हुन नसक्ने देखिन्छ । माओवादी नेतृत्वले यसअघि सकेसम्म महानिर्देशनालयको नेतृत्व हात पार्ने नभए निर्देशनालयको सेकेण्डम्यानका रुपमा लडाकू कमाण्डरबाट जाने अबस्था बनाउने आश्वस्त पारेको थियो । तर सातबुँदेका सर्तले त्यो सम्भावनालाई टारेको छ । सात बुँदेका यीनै सर्त देखेर होला अधिकांश उच्च तहका माओवादी लडाकूहरु सेनामा समायोजन हुनेभन्दा स्वेच्छिक अबकाशमा जानेतिर रुची देखाएका छन् ।
सेकेण्डम्यानको दावी नछाड्ने
तर माओवादीले भने महानिर्देशनालयको सकेण्डम्यानको दावी नछाड्ने तयारी गरेको छ । सातवटा डिभिजन कमाण्डरमध्ये एक जनालाई सेकेन्डम्यानका रुपमा पठाउन माओवादीले नेतृत्व र लडाकूसम्बद्ध नेताहरुले छलफल थालेका छन् । सात बुँदे सहमतिमा समायोजनपछि माओवादी लडाकूले पाउने दर्जाका बिषयमा केही पनि उल्लेख छैन् । नेपाली सेनाले महानिर्देशनालय अन्र्तगत आएपछि नेपाली सेनाको नियमअनुसार अधिकृत तालिम सकेपछि उसको योग्यता र क्षमताअनुसार जिम्मेवारी दिइने बताएको छ । माओवादी बाहेकका दलले पनि सोही अडान राख्दै आएका छन् । तर माओवादीले भने कम्तीमा बि्रगेडियर जनरलसम्म पाउनुपर्ने अन्य दलसँग प्रस्ताव गरेको छ ।
सात डिभिजन कमाण्डरमध्ये केन्द्रीय सदस्य रहेका धनबहादुर मास्के ‘राजेश’, सन्तु दराई ‘परवाना’, तेजबहादुर ओली ‘प्रतिक’ र कालिबहादुर खाम ‘बिबिध’लाई समायोजनमा नपठाउने निर्णय गरिसकेको छ । उनीहरुले स्वेच्छिक अबकाश अन्र्तगत आठ/आठ लाख रुपैयाँ लिएर शिविरबाट बिदा हुनेछन् । दोस्रो डिभिजन कमाण्डर सुकबहादुर रोका ‘सरद’ र पाँचौ डिभिजन कमाण्डर ‘प्रज्वल’को नेतृत्वमा समायोजनमा जाने जनसेनाको जनरल स्टाफ मिटिङले निर्णय गरेको बताइएको छ । प्रचण्डनिकट स्रोतका अनुसार सरदलाई महानिर्देशनालयको सेकेण्डम्यान रुपमा पठाउने तयारी माओवादीले गरेको छ ।
यसैवीच लडाकू बर्गिकरणका बेला बैद्य पक्षका कमाण्डहरुले असहयोग गर्ने ठानी माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराई लडाकूका सवै शिविरमा जाने भएका छन् । उनीहरु सवै शिविरमा पुगेर लडाकूलाई आश्वस्त पार्न प्रयास गर्ने बताइएको छ । त्यसअघि वर्गिकरण प्रकृयालाई सहज बनाउन लडाकू इन्चार्ज बर्षमान पुन, कमाण्डर नन्दकिशोर पुन, डेपुटी कमाण्डर बलदेव लगायतका नेताहरु सवै शिविर जाने भएका छन् । From= onlinekhabar.com

No comments: