Jan 2, 2013

नयाँ प्रधानमन्त्री बनाउने ‘नयाँ कसरत’ यसरी चल्दैछ ।


२०६९ पुष १७ गते बेलुकी सवा नौबजेतिर एकजना एकिकृत नेकपा माओवादी नेताको एस एमएस आयो । लेखिएको थियो ,‘स्वतन्त्र ब्यक्ति ज्ञानेन्द्र शाह हुन सक्छ, के उसैलाई प्रधानमन्त्री बनाउने?’ विदाको बसेको म पुरै ‘ब्ल्याङक’ थिए । त्यो तहका व्यक्तिको एसएमएस पक्कै केही भएर यसरी आयो भन्ने संका लाग्यो । तर, गतिविधि के भईरहेको थियो मैले बुझ्न सकिन । दलहरुबीच सहमति नभएपछि केहीसमय पहिले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने हल्ला चलेपनि मथ्यर भएको थियो । तर, भित्रभित्र खिचडी पाकेको रहेछ ।
१८ गते कार्यालय पुगे । राजनीतिक बजारमा हल्लाखल्ला त्यति धेरै थिएन तर कोठाहरुमा वासना फैलीसकेको रहेछ भन्ने बल्ल थाहा पाईयो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमाले नेता माधव कुमार नेपाललाई टटस्थ व्यक्तिलाई प्रधानमन्त्री बनाउँ भनेर प्रस्ताव   गरे । तर, त्यो  त्यक्तिकै गरेका रहेनछन् भने बेलुकीसम्म आउँदा प्रष्ट भयो ।

कसरी पाक्दैछ खिचडी ?
कांग्रेसले आफूलाई स्वीकार नगर्ने अवस्था आएपछि पछि प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले अपमानित महसुस गरेका छन् । त्यसमा पनि कांग्रेस सभापति सुशील कोईरालाको नाम अगाडी आएपछि त्यसमा प्रधानमन्त्री भट्टराईसहित गठवन्धन त्यति सकारात्मक छैन् । संघीयता र १२ बुँदे सम्झौता विरोधीका रुपमा पेश गर्दै बरु प्रधानमन्त्री पद स्वतन्त्र व्यक्तिलाई नै दिन तयार भएका छन, उनीहरु । २०६९ पुष १८ गते बेलुकी समाचार बनाउने सिसिलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेललाई फोन गर्दा सहजै स्वीकारे की तटस्थ व्यक्तिमा छलफल सुरु भएको छ । उनले नामै किटेर भने,‘देवेन्द्र राज पाण्डे, पद्मरत्न तुलाधर र दमननाथ ढुंगानाकाबारेमा छलफल चलिरहेको छ ।’ 
२०६९ पुष १८ गते नै मोर्चाका एक जना मलाई फोन गरे र तटस्थ व्यक्तिको प्रस्तावबारे बुझ्न खोजे । सामान्य छलफलपछि उनको पनि भनाई स्पष्ट थियो,‘ दमननाथ ढुंगानाप्रपति माओवादी लचिलो छ भन्ने सुनिएको छ र हामी पनि नकारात्मक छैनौ, सुशील भन्दा ढुंगाना संघीयता पक्षधर हुन् र मोर्चा पनि त्यतिरै लचिलो छ, पहिलेको भन्दा अब बाटो स्पष्ट हुँदै गएको छ तर अझै केहुन्छ भन्न सकिदैन ।’
स्रोतका अनुसार पद्मरत्न तुलाधर त्यत्ति ईच्छुक देखिएका छैनन् तर पाण्डे र ढुंगााना आकांक्षी छन् र छलफल पनि चलाईरहेका छन् । ढुंगानामा भारतमा गएर लाईन मिलाउने प्रयास गरेको चर्चा त  छदैछ, उपप्रधानमन्त्री तथा विजयकुमार गच्छदारले नै भेटेर यस विषयमा छलफल गरिसकेका छन् भने पाण्डेले पनि आफ्नो लविङ गरिरहेका छन् । उनले  यसै विषयमा माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर छलफल गरिसकेका छन् । विश्वनाथ उपाध्यायको चर्चा आएपनि कर्मचारीतन्त्रबाट स्वीकार नगर्ने बावुराम भट्टराईले आफू निकट सँग स्पष्ट पारिसकेका छन् ।
उल्टो कुरो कसरी सुल्टो भयो ?
जव माओवादी अध्यक्ष प्रचण्डले दलका नेतामा सहमति नहुने भए स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरे त्यसलगत्तै भट्टराईले यसको चर्को विरोध गरेका  थिए । तर अहिले आएर एकाएक बावुरामले स्वतन्त्र व्यक्ति भन्न थालेपछि अनौठो मान्नेहरु धेरै छन् । प्रचण्डको थाईल्याण्डयात्रा र उनी काठमाण्डु झर्ने दिनै भट्टराईको यो प्रस्ताव आउनुलाई पनि धेरैले संयोगमात्रै होईन भन्न थालेका छन् । त्यसो त कांग्रेसलाई नेतृत्व दिने भन्दा स्वतन्त्र वा तटस्थ व्यक्तिलाई नै सरकार दिनेमा माओवादीको पुरै नेतृत्व नजिक छ । 
बाबुराम हावी हो  ?
प्रधानमन्त्री भट्टराई मुगुको गमगढीमा मोटरबाटो उद्घाटन गर्न गएका बेला पुस १ गते काठमाण्डुमा प्रचण्डको अगुवाईमा खिचडी पाकेको थियो । जसमा सुशील कोईरालालाई प्रधानमन्त्री बनाउनेगरि एकिकृत माओवादीलाई ६ वटा मन्त्रालय, कांग्रेस एमालेलाई ४—४ वटा, नेकपा—माओवादीलाई ३ वटा र बाँकी मधेशवादी र साना दललाई दिने सहमति भईसकेको थियो । यो कुरा थाहा पाएर मधेशी मोर्चाका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छादारले प्रधानमन्त्री फर्कने वित्तिकै,‘सबै कुरा सकियो तपाई के     हेर्दैहुनुहुन्छ ?' भनेपछि झस्किएका प्रधानमन्त्रीले आफ्नो अध्यक्षले गरेको निर्णय नमान्ने र यस्तै रहे पार्टी फूट्न सक्नेसम्मको चेतावनी दिए । लगत्तै बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकबाट पनि नयाँ केही निर्णय भएन । तर प्रचण्डले जसरी हुन्छ भनेर सहमतिको प्रयास गर्ने भन्दै आएका छन् तर पनि बाबुरामले कांग्रेसलाई सरकार दिन नसकिने भन्दै आफ्नो अडान लिएर हिडिरहेका छन् । प्रचण्डको सहमतिको प्रयास भन्दा बाबुरामको अडान कडा बनिरहेको छ ।
मनमा डर चाही छ ।
अर्काको रिसले आफ्नै मुड्कीले भित्तो हान्ने प्रयास गरेपनि के हुने हो भनेर शंकामा सत्तापक्ष छ । भोली यसले राजनीतिक दल र नेताको औचित्यमा प्रश्न उठ्न सक्ने र प्रतिगामीले खेल्न सक्ने भयले छोडेको छैन । राजनीतिक दल र नेतृत्वको क्षयीकरणको बाटो खुल्न सक्ने खतराबाट पनि दल पनि अनविज्ञ छैनन् । तर, दलहरुको यै गतिले ‘स्वतन्त्र’ वा ‘तटस्थ’ व्यक्तिका लागि वाटो नखुल्ला भन्न सक्ने अवस्था छैन ।

No comments: