Oct 13, 2012

रोल्पामा प्रचलित लोकभाका खोज्दै हिड्दा

२०६७ साल फागुनमा आफ्नै गृहजिल्लाको थवाङ जाने साईत जु¥यो । आफ्नै जिल्ला भएपनि अन्तराष्ट्रिय चासोको त्यो ठाँउमा जाने अवसर मिलेको थिएन । एक हप्ताको योजना बनाएर   हिडियों । खास उदेश्य थवाङमा माओवादीले मनाउन लागेको जनयुद्ध दिवसको रिपोर्टिङ थियो । तर, जिल्ला जाने भनेपछि ८-१० वटा रिपोर्ट कसो नआँउला भन्ने मनमा थियो । त्यसैले अफिसियली नै हिडियो माग २८ गते ।
यो यात्राका अन्य पाटाका विषय र अविस्मरणीय क्षण छदैछन् ।......
तर मैले यहाँ उठाउन खोजेको विषय पुराना र रोल्पामा संकलित गीतका बारेमा हो । रोल्पामा कस्ता लोकभाका चलनचल्तिमा छन् त्यो खोजीगर्ने मेरो पहिलेदेखिकै चाहना थियो । तर, मेसो थिएन । सानैदेखि मेलामा जादाँ घुँडा धसेर गाएका गीतहरु सुनेको   थिए । तर, शहर छिरेपछि यी शैलीका भाकाहरु मैले सुनिन । लोकभाकाकाबारेमा थप अझै चासो लाग्यो र ठाँउ अनुसार र भेग अनुसार लोकभाका हुन्छन् भन्ने पनि थाहा भयो । लोकगीतको पारखी म आफ्नै जिल्लामा चाही कस्ता भाका होलान त ? झनपछि झन उत्सुकता बढ्यो । त्यसैले काठमाण्डुबाट हिड्दा त्यो दिमागमा अलिअलि थियो ।
ठाडी भाका, साईला भाका भनेको त सुनेको थिए तर यसको असली भाका मेरो मस्तिष्कमा   थिएनन् । यिनै भाका अन्य ठाँउमा पनि प्रचलनमा छन् भन्ने त थाहा पाएको थिए । तर यसमा फरक के हुन्छ ? त्यो पनि मलाई ज्ञान थिएन ।
फागनु १ गते थवाङ पुगियो । फागुन १ गते कार्यक्रम सकेर मैले सँग गएकी दिदी सम्झना घर्ति (तत्कालीन एकिकृत माओवादी मगरात राज्य समिति सचिवालय सदस्य) लाई भने,‘मलाई त लोकभाका गाँउने पुराना मान्छे चाहीयो ।’ सम्झना दिदीले एकजना मान्छेको नाम लिईन (मैले नाम विर्षे) । त्यो मान्छे खोज्न थालियो तर भेटिएन । यत्तिकैमा उनले ति गीत गाँउनेको श्रीमती देखाईदिन् । अब हामी ति पात्र खोज्नु थियो । नागरिक दैनिकका साथी किरण र म ति दिदीको पछि लाग्यौ । अनि आफ्ना योजना सुनायौं । दिदी त जम्बर पो रहिछन् । उनका श्रीमानलाई सोधेको त उनले बुढाको नामै वोतलसिंह राखेकी रहिछन् । दिनभरी रक्सी खाने र हिड्न अनि वेलुका पख आउने । ‘अहिले त मैले त भेटेको छैन तपाईहरुले कसरी भन्नुहुन्छ’ भनेर हाँसिन् । ‘दिदिलाई पनि त आउँछ होलानी गीत गाँउन’ किरणले कुरो उठाए । दिदीले हाँसिन र भनिन्,‘के आउनु नी, आली आली आउँछ, त्यैंबनी विर्से’ हास्दै आफ्नै लबजमा सकारात्मक कुरो देखाईन् । किरण मतिर आखाँ जिम्काउँदै दिदिलाई गीत गाँउन उस्काउदै थिईन् । किरणले हौसाएपछि दिदिले पोल खोलीन बोत्तलसिंहले त गीत गाएरै पो विहे गरेका रहेछन् । ‘पहिले गीतमा फसियो अहिले अलि दुःख दे‘को छ वोटलमा भूलेर,’ हास्दै अलिकति तितो पनि दिदिले । एकछिन फकाएपछि दिदिले गाँउन थालीन ;
..........कानै लाउँने कर्नाफूली नाक लाउने बुलाकी मायालाई
        यो देश छाडी परदेश गए यो मनको होलाकी मायालाई...
किरण जी र म त मख्ख । यहाँबाट गीत खोज्नेक्रम सुरु गरियो । पछि खोज्दै जाँदा रोल्पामा प्रचलित निकै पुराना भाका भेटियो । रोल्पा र प्रचलित भाकामा उत्रा,साईलिबरै, साईली जी, स्यानी माया, साईलीभाका, ठाडी भाका, बनगारी जस्ता गीतहरु बुढापाकाकै मुखबाट सुन्न पाईयो । यि भाकाका पनि हाँगा रहेछन्, फरक फरक भाकामा  । एकदिनको खोजी र अनुभव पछि रोल्पामा प्रचलित लोकभाको धेरै छन् भन्ने निष्कर्षमा पुगियो । तर खोज्ने अबसर मिलेको छैन । गाँउमा भेला हुँदा मेला जाँदा, नाचगाँन गर्ने, जानेको गीत गाँउ अब लगभग हराएको छ । यस्ता पुराना भाकाका गीत त झनै सन्न मुस्किल छ । यस्ता लोकभाका अभ्यासकै आधारमा एक पुस्ताबाट अर्को पुस्ता सर्दै आएका हुन् । खोलाको साँध अनुसार लवज, भाषा संस्कार र संस्कृति अनुसारका शैली । लोकभाका यिनैका उत्पादन हुन् । यसको संरक्षण रहर गरेर मात्रै  त के हुन्थ्यो र । अरु भाकाको जानकारी छ भने खबर गर्नु होला है साथी हो ।


No comments: