Oct 16, 2011

कष्टप्रद यात्रा र सस्तो मृत्यु

हिम विष्ट
बस दुर्घटनापछि त्यसको कारण जान्न र बुझ्न तथा अध्ययन-अनुसन्धान गर्न आवश्यक छ । यसरी कैयौँको ज्यान जाने दुर्घटना बारम्बार भइरहेका छन्, सरकारले कारण खोजेर न्यूनीकरणको प्रयास गरेको देखिन्न । मानौँ बस पल्टिएर ज्यान गुमाउनु सामान्य किसानको गोरु भीरबाट लडेर मरेको हो ।

गत बिहीबार सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको दुःखद् निधन भयो । यो गाडी दुर्घटनाको इतिहासमा अर्को ठूलो दुर्घटना हो । नेपालमा गाडी दुर्घटनाका सानातिना घटनाका हिसाब हुन छाडिसकेको छ । तर, दर्जनौँ व्यक्तिको जाँदा पनि बस दुर्घटनाबारे चासो कम हुने गर्छ । वेला-वेलामा ठूला बस दुर्घटना बारम्बार दोहोरिरहन्छन् । गाडी दुर्घटनापछि त्यसमा ज्यान गुमाउनेका आफन्तले वषौर्ंसम्म पीडा भोगिरहन्छन्, तर अरूले भने भयानक र दर्दनाक घटना आजको भोलि बिर्सन्छन् । अबचाहिँ गाडी दुर्घटनालाई सस्तो बनाएर सधैँ जोखिममा रहन दिने वा यसलाई सक्दो सुधार्ने भन्ने सोच्नुपर्ने वेला आएको छ । 
नेपालमा संगतिपूर्ण ढंगले काम कमै हुन्छ । 'जसले हान्यो, उसले जान्यो'को पाराले चलिरहेको मुलुकमा यातायात क्षेत्रमा पनि समस्या यही हो । सरकारले यात्रु धेरै नबोक्न, जथाभावी यात्रु नचढाउन भन्दै कडाइ गरिरहेका वेला क्षमताभन्दा धेरै यात्रु बोकेको बस पल्टिँदा ४१ जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ । सबै कुरा कानुनले गर्दैन, कानुनले बाटो देखाउने हो । कानुन वा नियम लागू गर्ने मान्छे लठ्ठी लिएर सधैँ भैँसी डोर्‍याएर हिँडेजस्तो हिँड्दैन । त्यसैले एउटा चेतनशील प्राणी अराजक र अटेरी नभइदिने हो भने धेरै समस्या समाधान हुन्छ । यहाँ यातायात व्यवसायीले आफूलाई नै राज्य र कानुन सम्झिने चलन छ । यातायात व्यवसायी, चालक र सहचालक यात्रुलाई भेडाबाख्रा सम्झनु कुनै नौलो कुरा होइन । 'भगवान् भरोसा'मा सेवा दिने यातायात सम्बद्ध व्यक्तिसँगै सरकारले पनि यातायात क्षेत्रलाई हेर्ने दृष्टि बदल्नुपर्छ अब, विशेष गरेर जोखिम न्यूनीकरणका हिसाबले पनि । 
केही समयअघि हवाईजहाज दुर्घटना भयो । ज्यान गुमाएको १९ जनाले हो । त्यसो त एकजनाको मृत्यु र एक सयजनाको मृत्युको पीडा उस्तै हो, तर हावाईजहाज दुर्घटना हुनेबित्तिकै सरकार पूरै परिचालित भयो । बिहान पौने आठ बजे भएको दुर्घटनाको उद्धार चलिरहँदा सुरक्षा अंगका प्रमुखसहित गृहमन्त्री विजयकुमार गच्छदार त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे छानबिन गर्न आयोग गठनको घोषणा गरे । उद्धारका लागि सेना र निजी कम्पनीका हेलिकोप्टर अप्ठ्यारो दुर्घटनास्थलमा पुर्‍याएर उद्धारकार्य तीव्र पारियो । तर, झन्डै ६० जनाभन्दा धेरै दुर्घटनामा पर्दा र गाडी दुर्घटना भएको छेवैमा सजिलै हेलिकोप्टर ल्यान्ड गराउन सजिलो ठाउँ हुँदाहुँदै पनि हेलिकोप्टर उडेन । दुर्घटनामा थिल्थिलो भएका घाइतेलाई साँघुरो र अप्ठ्यारो बाटोमा गाडी -एम्बुलेन्स) बाटै लामो समय लगाएर अस्पताल पुर्‍याउनुपर्‍यो । हवाई दुर्घटनापछिको तदारुकताबारे आलोचना होइन यो, तर बस दुर्घटनापछिको बेवास्ताबारेको चिन्ता हो । जुनसुकै दुर्घटनाको परिणाम जनधनको क्षति नै हो । त्यसैले जुनसुकै दुर्घटना भए पनि उद्धार, अनुसन्धान तथा कारबाही तीव्र र चित्तबुझ्दो हुनु आवश्यक छ । बस दुर्घटनापछि पनि त्यसको कारण जान्न र बुझ्न तथा अध्ययन अनुसन्धान गर्न आवश्यक छ, यसरी कैयौँको ज्यान जाने दुर्घटना बारम्बार भइरहेका छन्, तर सरकारले कारण खोजेर न्यूनीकरणको प्रयास कहिल्यै गर्दैन । मानौँ बस पल्टिएर ज्यान गुमाउनु सामान्य किसानको गोरु भीरबाट लडेर मरेको हो । 
यातायात क्षेत्रलाई सुधार्नैपर्ने भएको छ । राज्यको नियम-कानुन मान्ने हो भने, सेवालाई आफ्नो पेसाको मानक मान्ने हो भने यातायात व्यवसायी र तिनका कर्मचारी नसुध्री धरै छैन । बसयात्रा सबैभन्दा कहालीलाग्दो यात्रा हुने गर्छ । सबैमा त नभनौँ, तर सकेजति र भएजतिको अत्याचार यातायात व्यवसायीले गर्छन् नै ! यातायात व्यवसायी सुधारिने हो भने दिनदिनै हुने स-साना दुर्घटना र अन्य ठूला दुर्घटना कम गर्न सहयोग पुग्छ । बस व्यवसायीसँग लामो यात्रामा जाने वा छोटो रुटमा चल्ने बस चेकजाँच गर्ने प्राविधिक छैनन् । यहाँ भर्खरै गाडी सिक्ने रहरले ड्राइभरको सहयोगी भएर हिँडेका खलासीका भरमा गाडी गुडाइन्छन् । जब लामो रुटमा गाडी छुट्ने वेला हुन्छ तब खलासीले हातमा सानो ढुंगा लिएर ट्वाक.. ट्वाक.. हान्दै टायरको हावा चेक गर्छ, त्यसपछि यसो बसमुनि हेर्छ अनि सिठी फुकेपछि गाडी चल्छ । यदि, सही ढंगले यात्रुलाई गन्तव्यमा पुर्‍याउने हो भने गाडी चल्नुअघि दक्ष प्राविधिकले राम्रोसँग इन्जिन चेकजाँच गर्नु आवश्यक छ । त्यसका लागि बस व्यवसायी समितिले नै व्यवस्था गर्नुपर्छ । अर्कातर्फ जबर्जस्ती मान्छे कोच्ने चलन उस्तै छ । जति पनि ठूला दुर्घटना हुन्छन्, त्यसको मुख्य कारण भनेको क्षमताभन्दा धेरै यात्रु चढाउनु नै हो । यदि, यस्ता दुर्घटनाबाट बच्ने हो भने सिटको क्षमताभन्दा बढी भार बोक्न दिनु हुँदैन । यसका लागि सरकारले बाटामा कडा चेकजाँच गर्नुपर्छ । प्रायः बस स्टेसनबाट भन्दा पनि बाटामा गाडी रोक्दै मान्छे चढाउने समस्या बढी छ । त्यसो त बस स्टेसनबाटै पनि यात्रु जबर्जस्ती कोचिन बाध्य पारिन्छ । यसलाई रोक्ने निकाय मौन छ । 
अहिले के भइरहेको छ भने, भित्र र छतभरि मान्छे भर्‍यो अनि ट्राफिक प्रहरी चेकपोस्ट आउन लाग्यो भने अलि वरै गाडी रोकेर मान्छे हिँडायो वा भित्र कोच्यो अनि आँखा छल्यो । प्रहरीले देखे पनि नदेखेजस्तो गरेर छाडिदिने चलन छँदै छ । यस्तो अवस्थाको तत्कालै अन्त्य गर्नुपर्छ । छतमा मान्छे हालेको शंका लागे मात्रै पनि तत्काल कारबाही गर्नुपर्छ, जसले गर्दा धेरै यात्रु जबर्जस्ती यात्रु बसमा कोच्ने प्रवृत्ति निरुत्साहित गर्न सकिन्छ । यसको सुरुवात गर्ने हो भने सिन्धुलीदेखि काठमाडौं आउने बसमा सिटसंख्याभन्दा धेरै मान्छे देख्दादेख्दै त्यसै छाड्ने प्रहरीमाथि तत्काल कारबाही अगाडि बढाउन जरुरी हुन्छ । अर्कातर्फ सिटक्षमताभन्दा धेरै मान्छे बोक्ने प्रवृत्ति रोक्न गाडी मालिक तथा यातायात व्यवसायी समिति आफैँ सक्रिय हुनुपर्छ । यसका लागि कानुन र प्रहरीको डन्डाको पनि महत्त्व हुन्छ । बाटामा जति धेरै मान्छे हाल्यो त्यति नै ड्राइभर खलासीलाई फाइदा हुने भएकाले पनि बसमा जबर्जस्ती मान्छे कोच्ने क्रम बढेको हो । जसले हजारौँ यात्रुको ज्यान हरेक दिन जोखिममा परिरहेको हुन्छ । यात्रु आफैँ जान खोज्छन्, गाडी नै पाइँदैन भन्दै तर्क गरेर पन्छिन खोज्न सक्छन् । त्यसो हो भने यसका लागि सिन्डिकेट प्रणाली गर्नु जरुरी छ । सीमित गाडी पठाएर बाँकी गाडी ग्यारेजमा थन्क्याएर एउटा बसले दुईवटा बसमा चल्ने यात्रु बोकेर हिँड्ने अवस्था सिर्जना गरिन्छ । सरकारले बारम्बार प्रयास गर्दा पनि सिन्डिकेट हटाउन सकेको छैन । कानुनको खिल्ली उडाउँदै यातायात व्यवसायी छुट्टै साम्राज्य चलाइरहेका छन् । 
सरकारको साझा यातायात धराशयी हुनु र निजीकरणको नाराको फाइदा कसैलाई भएको छ भने यातायात व्यवसायीलाई भएको छ । थोरै गाडी चलाउने र यात्रुलाई बाध्य पारेर कोच्ने परिस्थितिको सिर्जना गर्दै पैसा कमाउने होड छ, यातायात क्षेत्रमा अहिले । यहाँ यातायात व्यवसायीलाई सरकारले हल्लाउन सक्दैन अनि उनीहरू मानवीय बन्न सक्दैनन् । लाखौँ मूल्यको गाडी चलाउने, तर कौडीबराबरको मानवीय संवेदना नभएका गाडी मालिक अनि कर्मचारी नसुधि्रएसम्म यात्रु गाडीमा चढ्नेबित्तिकै मृत्युसँगै बोकेर हिँडिरहेका हुन्छन् भन्दा फरक पर्दैन । सडक पनि दुर्घटनाको अर्को कारण बन्ने गरेको छ, यहाँ । भएका साँघुरा सडकको मर्मत हुँदैन भने त्यही सडकमा लाहपरवाह तरिकाले गाडी हाँकिन्छ । अर्कोतर्फ भर्खर ट्रयाक खलिएका सडकमा मात्रै पनि यात्रुवाहक बस, जिप चल्न दिइन्छ । सायद सिन्धुलीबाट आउने बस निर्माणाधीन कच्ची र अप्ठ्यारो बाटामा आउन नदिएको भए सम्भावित दुर्घटना टर्न सक्थ्यो । त्यसैमा आँखा छलेर त्यस्ता खतरापूर्ण बाटोमा गाडी चलाउने ड्राइभर र यातायात व्यवसायी समिति यस्ता दुर्घटनाका जिम्मेवार हुन् । 
दुर्घटना पूरै टार्न त सकिँदैन, तर कम गर्न भने सकिन्छ । सरकारले तत्काल सुधारात्मक काम थाल्ने हो भने दुर्घटना भइहालेमा उद्धार र उपचारको शीघ्र व्यवस्था गर्नुपर्छ । गाडी दुर्घटनालाई दोस्रो दर्जामा राख्न हुँदैन । अर्कोतर्फ ठूला दुर्घटना धेरै यात्रु बोकेका कारण हुने भएकाले यसलाई निरुत्साहित गर्नुपर्छ र त्यसका लागि प्रहरीले चेक जाँचमा कडा गर्नुपर्छ अनि ट्रयाक मात्र खुलेका वाटोमा यस्ता यात्रुवाहक बस चल्न दिनुहुँदैन । प्राविधिक कारणले हुने दुर्घटना रोक्न यातायात व्यवसायी समितिले प्राविधिक कर्मचारी राखेर बस छुट्नुअघि राम्रोसँग चेकजाँच गर्ने व्यवस्था गर्नुपर्छ । सिन्डिकेट प्रथा तत्काल अन्त्य गरी यात्रुको सेवा-सुविधालाई सहज बनाउनुपर्छ । यातायात क्षेत्रमा रहेका कर्मचारीको आचरण सुधार्न यातायात व्यवसायीमार्फत कार्यक्रम चलाउनुपर्छ । र, ठूलो दुर्घटनाबारे छानबिन आयोग गठन गरी कारण पत्ता लगाउने र दोषीमाथि कारबाही चलाउने व्यवस्था गर्न आवश्यक छ । होइन भने सडकयात्रा अत्यन्तै कष्टकर र मृत्यु सस्तो भइरहनेछ अनि मृत्यु बेच्न पल्केकाहरूको साम्राज्य फैलिरहनेछ । from- nayapatrika 2068-6-30

No comments: