अध्यक्ष कमरेड,
कुनै दिन तपाईंलाई देख्न पाउने सम्भावित खबरले ममा यस्तो अनुभूति भएको थियो, 'उद्देलनाले भरिएको छ, मन । एउटा आकांक्षा पनि साँचिएकै छ, राम्रै । महान् नेपाली जनयुद्ध प्रत्याक्रमणको चुनौतीपूर्ण यात्रा तय गर्दै अगाडि बढिरहेको छ । युद्धमा समाहित भएको सातौँ वर्षमा म नेपाली क्रान्तिको आधार क्षेत्र नेपाली ऐनान- रोल्पातर्फ उन्मुख यात्रामा समाहित छु । म त्यहाँ अध्यक्ष क. प्रचण्डलाई पहिलोपटक देख्नेछु, भेट्नेछु र दरिला हात मिलाउनेछु । सायद अध्यक्षसँग गर्वकासाथ आफ्नो परिचय दिनेछु । त्यसपछि मेरो बलिदान भएछ भने पनि अध्यक्ष कमरेड प्रचण्डलाई देख्ने सपना अधूरो रहने छैन ।' १६ भदौ २०६१, डायरीका पानाबाट ।
श्रद्धेय कमरेड, झन्डै सात वर्ष अघि यस्तो सोचेको मैले झन्डै पाँच वर्ष तपाईंसँगै बिताएँ । पश्चिम नेपालको रोल्पामा हुने भनिएको पार्टीको केन्द्रीय भेलामा जाँदै गर्दा (जुन कार्यक्रम रद्द भयो) यात्रामा गरिएको अनुभूति हो यो । तर आज मसँग तपाईंप्रतिको जिज्ञासा बदलिएको छ, -अब म अध्यक्ष कमरेडलाई सलाम गर्नेछु, दरिला हात मिलाउनेछु र कमरेड म आफ्नो कार्यक्षेत्रमा जाँदैछु, भन्दै बिदा हुनेछु । सायद, त्यो क्षण बहुत् असजिलो हुनेछ । आफ्नो वर्गको नेतृत्व, जसको सुरक्षाको लागि भनेर अहोरात्र खटियो, जो बाँचेमा मात्र आफ्नो वर्गको मुक्तिको ढोका उघारिने सम्भावना देखिएको छ र जसको जीवनमाथि धेरै खतराका घन्टीहरू बजिरहेका छन्, लाई छोडेर जानुपर्ने क्षण अत्यन्त पीडादायक बनिरहेको छ । उसै त पाँच दिनदेखि यहाँको वातावरण अलि भावुक बनेको छ, कसैले कसैको अनुहारमा सीधा हेर्न नसक्ने जस्तो, केही भन्न खोज्दा शब्द नफुट्ने जस्तो ।
५ मंसिर, २०६३ मा जनमुक्ति सेना, नेपाली जनताको घरबाट बिदा भएर जंगलमा प्रवेश गर्यो । हामीले चितवनको शक्तिखोरस्थित भुताहा खोलाको दोभानमा बालुवामाथि पराल बिच्छयाएर सेतो प्लास्टिकको छानामुनी रात काट्यौँ । उज्यालो भयो, हामी सबै जनसेना, अस्थायी शिविर निर्माणमा लाग्यौँ । अहोरात्र खटेर सुकुम्बासी बस्ती जस्तो एउटा संरचनाको आकार बन्दै थियो । दुई रात खोलाको दोभानमै बितायौँ । तेस्रो दिन बिहान डिभिजन कमान्डरले, अध्यक्ष कमरेड प्रचण्डको सेक्युरिटीको जिम्मेवारी लिएर काठमाडौँ जानुपर्ने निर्देशन गर्नुभयो । साथै पोलिटब्युरो सदस्य क.उत्तम र कमिसार क.सोनामले तपाईंको सुरक्षाको महत्त्व बताउँदै शुभकामना दिएर बिदा गर्नुभयो ।
हाय ! कहिले तपाईंलाई भेट्ने तीव्र लालसा थियो । अब सधैँ सँगै बस्न जानुपर्नेछ । तर सुरक्षा ! जसको टाउकाको मूल्य तोकिएको छ । जसले एउटा शक्तिशाली सत्तालाई ढाल्ने चुनौती दिएको छ । जोमाथि सारा विश्व खनिएको छ । त्यस्तो व्यक्तिको सुरक्षा गर्नु कुनै सामान्य कार्य त होइन । मन कतै खुसीले बहुलाए जस्तो, कतै चुनौतीको पहाडले थिचे जस्तो, कहिले सकिन्छ जस्तो, कहिले सकिँदैन कि जस्तो । यावत् अनुभूतिहरूले घेरिरहेको थियो । पार्टीको निर्देशनलाई शिरोपर गर्दै म तपाईंको सुरक्षामा आइपुगेँ ।
कमरेड अध्यक्ष,
जब मेरो मनमा तपाईंको सुरक्षाको जिम्मेवारी बोध भयो तब ममा विश्व कम्युनिस्ट आन्दोलनका र प्रगतिशील आन्दोलनका पनि नेताहरूको सुरक्षाको एकाएक स्मरण हुन थाल्यो । क.लेनिन, जसलाई आफ्नै पार्टीका कमरेडहरूले गोली हाने, क.माओ जसलाई अाफ्नै श्रीमतीले धोका दिइरहेकी थिइन् । फिडेल क्यास्ट्रोको हत्याका लागि कति योजना बनायो सिआइएले । अंगरक्षकले किन हाने गोली गान्धीलाई ? आफ्नै ड्राइभर -कमरेड)ले किन खसाले त्रिशूलीमा मदन भण्डारीलाई ? किन गरियो राजा वीरेन्द्रको वंशनास र कसरी ? जता हेर्यो, केही राम्रो, अझ भनौँ वर्गीय हिसाबले गरिखाने जनता र राष्ट्रियताको पक्षमा केही गर्न खोज्ने सबैमाथि भौतिकरूपमा नै आक्रमण गरेर मारिएको छ र मारिने प्रयत्नहरू भएका छन् । जसको कारण पनि यो पुष्टि हुन्छ तपाईंमाथि पनि विभिन्न प्रकृतिबाट र विभिन्न प्रवृत्तिले आक्रमण गर्ने योजना बनाएकै छन् । यस्तै सोचेँ मैंले र सोहीअनुसार सुरक्षा मिलाउनु पर्दछ भन्ने लाग्यो ।
जसै, अनेकन जिज्ञासाहरू उमार्दै म तपाईंको सुरक्षाका लागि आफ्नो फर्मेसनबाट बिदाइ भएर आएँ । सँगै मोर्चामा लडेका साथीहरूलाई जंगलको बासमा छाडेर हिंड्नु पर्दा मन अमिलो भइरहेको थियो । तर के गर्ने अध्यक्ष
कमरेडको सुरक्षाको जिम्मेवारी र कमान्डरको आदेश दुवै महत्त्वपूर्ण कुरा थिए । ८ गते बिहान, डिभिजनले बिदा गर्यो । तर मेरो हालत, हातले डिभिजनलाई बिदाइ गर्दै थियो । पाइला काठमाडौँतर्फ सर्दै थिए, तर मन कहाँ हो कहाँ ! यसरी २०६२ साल मंसिर ८, गते साँझ बौद्धस्थित एक होटलामा पुगेर अध्यक्षको सुरक्ष्ााको जिम्मा लिएँ र आज पर्यन्त रहेँ ।
झन्डै पाँच वर्ष लामो सुरक्षामा रहँदा, धेरै चुनौतीहरू झेलियो । धेरै हल्लाहरूले पछयाइरहे । कोही अध्यक्षलाई यो पक्षबाट खतरा छ भनेर आउँथे त कोही अर्को पक्षबाट खतरा छ भन्दै । ती सत्य पनि हुन्थे र भ्रम पनि । जबकी हामी -एउटा सर्वहारा वर्गको नेतृत्वलाई जीवन पर्यन्त सुरक्षाको चुनौती भइनै रहन्छ भन्ने कुरामा पूर्णरूपमा विश्वस्त थियौँ । हाम्रै आफ्नो आधिकारिक सूचनाहरूको आधारमा पनि हामी सुरक्षा संवेदनशीलताको विश्लेषण गरिरहेका हुन्थ्यौँ । र, आवश्यक सम्पूर्ण सतर्कता हाम्रोतर्फबाट भइनै रहन्थ्यो । निःसन्देह हामी नेपालमा नेतृत्वको सुरक्षामा एउटा विश्वासनीयता र सफलताप्राप्त गर्न चाहन्थ्यौँ । बिदाइ बैठकमा कमरेड अध्यक्षले हाम्रो कामको मूल्यांकन गर्दै -कम्तिमा तपाईंहरूको कार्यकालमा कुनै अपि्रय घटना हुन पाएन । यसअर्थमा पनि जनमुक्ति सेनाको सुरक्षा व्यवस्था सफल देखिएको छ । तपाईंहरूले जुनस्तरको सुरक्षा व्यवस्था मिलाउनु भएको छ, त्यसको कारणले पनि कसैले सजिलै हामीमाथि आक्रमणको सपना पनि देख्न सक्दैन, भन्नुभएको थियो । हुन पनि सुरक्षा भनेको त्यो हो, जहाँ दुश्मनले आक्रमणको योजना निर्माण गर्ने आँट गर्ने सम्भावना नै दिनुहुँदैन । सुरक्षाकर्मीहरूको चेतना सधैँ हामीभन्दा शत्रुहरू यो-यो अर्थमा शक्तिशाली हुन्छन् र हामीलाई यो तरिकाले आक्रमण गर्न सक्छन् भन्नु अगाडि नै सम्भावनाको विश्लेषण गर्न सक्नुपर्दछ । सायद हामीले यो पक्षमा विशेष ख्याल कायम गरेको थियौँ । हामीले यो कहिले सोचेनौँ की घटनापछि पहलकदमी लिने । बरु, हामीले त पहलकदमी कहिले गुम्न नदिने जसको कारण घटना नै हुन नपाओस् । हाम्रो यही बुझाइ र व्यवहारका कारण पनि कतिपय खतराहरू टरेका छन् । तर सबैभन्दा महत्त्वपूर्ण कुरा त विशिष्ट व्यक्तित्वको सुरक्षामा उ स्वयंको कार्यशैलीले प्रमुख भूमिका खेलेको हुन्छ । साथै पारिवारिक वातावरणले पनि । यसर्थमा तपाईं र तपाईंको सम्पूर्ण परिवार असाध्य सचेत र सक्षम थियो र छ । जो कुनै पनि विशिष्ट व्यक्तित्वको सुरक्षाको लागि धेरै नै अनुकूल वातावरण हो । यसर्थ पनि हामीलाई सुरक्षामा रहेर काम गर्न निकै सजिलो परेको थियो ।
अध्यक्ष कमरेड अत्यन्तै गतिशील हुनुहुन्छ । हामीलाई तपाईंको गतिअनुसार सुरक्षाको प्रबन्ध मिलाउन उत्तिकै सक्रिय भइरहनु पर्दथ्यो । तपाईं अहोरात्र खट्न सक्नुहुन्छ । लगातार २४ घन्टासम्म पनि एकैस्थलमा भोक निन्द्राको कुनै प्रवाह नगरिकन काम गर्न सक्नुहुन्छ । नेपालको इतिहास नै बदल्ने अभियानमा सफलता प्राप्त गर्दै अगाडि बढ्नु भएका नेता क.प्रचण्डको उपस्थितिपश्चात् नेपलामा धेरै अकल्पनीय कार्यहरू भएका छन् । राता-रात नसुतेर अन्तरिम संविधान जारी गर्ने कार्यदेखि अघिल्लो दिन बैठक सुरु गरेर भोलिपल्टसम्म लगातार बसेर कार्य सफल गर्ने प्रचलन 'प्रचण्ड कार्यशैली'का रूपमा स्थापित भएको छ । तपाईं जब भोक-भोकै बैठक बस्नुहुन्थ्यो हामीमा झनै ऊर्जा भरिएर आउँथ्यो । पूरा निद्रा सायदै कुनै दिन सुत्नु भएको होला । एकै दिनमा पचासौँ बैठकहरू भ्याउनुहुन्थ्यो । आफ्नो वर्गहितका लागि यति धेरै मेहनत गर्ने नेता पनि सायदै होलान् । यसर्थ पनि तपाईंको सुरक्षामा खटिरहँदा बडो आनन्दानुभूति हुन्छ ।
आज तपाईंमाथि सुनियोजित तवरले अविश्वासका चाङहरू ठडाइँदै गर्दा त्यसलाई पनि मलजल पुग्ने यो जोखिम तपाईंले उठाउनु भएको छ र त्यही भ्रमलाई चिर्नका लागि पनि मैले जाँदै गर्दा तपाईंको सम्बोधनमा यो अनुभूति बाँडिरहेको छु । यस्तो चुनौतीपूर्ण घडीमा तपाईं जस्तो व्यक्तित्वको सुरक्षाको जिम्मेवारी छोडेर जानुपर्दा मन अमिलो भएको छ । आँखा धमिलो भए जस्तो लागेको छ । मात्रै अन्तरदृष्टिले कतै बाटो देखेको हो कि जस्तो भइरहेको छ । सायद यो यथार्थ हो र त जबर्जस्त मन सम्हालेर र्फकंदै छु ।
कमरेड अध्यक्ष, अब हामीले भन्नै पर्दछ, क.प्रचण्डको सुरक्षा अब सिंगो नेपाली जनताको हो । यहाँका अरु सुरक्षा निकायले पनि गम्भीरतापूर्वक यो तथ्यलाई आत्मसात् गरिसकेकोे छ । हामीसँगै झन्डै तीन वर्ष सहकार्य पनि गर्यौँ, जसका कारणले पनि यो जिम्मेवारी सबैको साझा हो भन्ने बोध गराएको छ । निःसन्देह, सर्वहारा वर्गको नेताको सुरक्षा सदैव खतरामा नै हुन्छ । आज अध्यक्ष क.प्रचण्डले आफूलाई स्टेटम्यानसिपको भूमिकातर्फ धकेल्दै अगाडि बढ्ने र आफ्नो वर्गीय स्वार्थसहित राष्ट्रिय हितको पक्षमा अगाडि बढ्ने महान् जोखिम उठान गर्नुभएको छ । यो तपाईंको महान् उद्देश्य सफल हुनेछ । हाम्रो तपाईंप्रतिको बुझाइ सही हुनेछ र तपाईंको आफैँप्रतिको विश्वासको जित हुनेछ । भ्रमहरू ध्वस्त हुनेछन् र महान् विजयसँगै हामीसँगै हुनेछौँ । हाम्रा सेक्युरिटीका सबै कमरेडहरू पनि तपाईंलाई सुरक्षाप्रति विशेष सतर्क रहन सुझाव दिँदै संगठनको आदेशानुसार खुसीसाथ क्यान्टोनमेन्ट फर्किंएका छन् । तपाईं आफ्नो सेनाको हातको बन्दुक बुझाउन तयार हुनुभएन, बरु आफ्नो जीवनको जोखिम उठाएर आफू एक्लै पनि अगाडि बढ्ने साहस गर्नुभयो । बुझ्नेका लागि तपाईंको यो कार्य काफी छ । तपाईं राष्ट्रको प्रधानमन्त्री हुँदा बालुवाटारमा बलिदान दिन तयार भएको कुरा के मैले बिर्सन सक्छु र ! जो तपाईंको सुरक्षामा पूरै रात बालुवाटारमा अनिदो बसेको थियो । यो कुरा हामीलाई न थाहा छ । हवस्त कमरेड, म यसभन्दा बढी अहिले भन्न नसक्ने भएँ । By-from NayaPatrika
No comments:
Post a Comment