Jul 31, 2011

दशरथ चन्दको अजम्बरी प्रेम


'५-६ वर्षीया बालिका मीनाक्षीदेवी राणामार्फत चिट्ठी पठाउँथे दशरथ र जुलियानी ।' मीनाक्षी पुरुषोत्तमकी बहिनी हुन् भने पुरुषोत्तम रुद्रशमशेरका नाति । जुलियानीलाई चिट्ठी पठाउँदा मीनाक्षीलाई दशरथ भन्ने गर्थे, 'सानी महारानी, यो चिट्ठी जुलियानी मैया साहेवलाई दिइबक्स्योस् है ।'

'देशले रगत मागे मलाई बलि चढाऊ

रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।’

७१ वर्षअघि गोपाल योञ्जनले यो गीत गुनगुनाएका भए उनी के सोच्थे कुन्नि ? उनलाई लाग्यो- मृत्युमा रुनु राम्रो । मृत्युमा आँसु टलपलाएको सुहाउँछ । त्यसैले त देशका लागि बलि चढ्नुअघि नै मृत्युमा रोइदिने मान्छे खोजे गीतमार्फत । सैनिक स्कुलका कोठा सफा गर्ने राममायालाई उनले भनेका थिए, 'मेरा साथीलाई मारेपछि रुने आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही भएनन् । त्यसैले राममाया मलाई मारेपछि तिमी रोइदेऊ है ?' यो प्रसंग सहिद दशरथसँग मिल्छ । फाँसीको सजाय सुनाइएको भोलिपल्ट आप\mनो मृत्युमा रोइदिने मान्छे खोज्नुपर्ने बाध्यता आइलागेको थियो दशरथलाई ।

१७ असार १९६० मा भुइँ टेकेका चन्द पश्चिम सीमान्त जिल्ला बैतडीको बस्कोटमा जन्मे । दशरथ लप्टन शेरबहादुर र पार्वतीका माइला छोरा हुन् । मातृवात्सल्य नपाएर होला उनलाई मृत्युमा रुवाइ सहज लाग्ने गरेको थियो । दशरथको बाल्यकाल त्यति सहज बितेन । उनले तेह्र वर्षमै आमा गुमाए । त्यसपछि बाबु लप्टन शेरबहादुरले तीनवटा बिहे गरे । बाबुको जागिरे जिन्दगीसँगै चहार्नुपर्‍यो उनले पनि । बुबाको सरुवासँगै नेपालगन्ज, सुर्खेततिर हुइँकिए उनी । ६ कक्षासम्म बैतडी, नेपालगन्ज र सुर्खेतमा पढेपछि वि.सं. १९७७/७८ तिर उनलाई भारतको अल्मोडास्थित सर गार्सेन रैमजे स्कुलमा भर्ना गरियो । बाल्यकालको केही अवधि मामाघर भारतको पिथौरागढस्थित अस्कोट-पंक्तोलीमा बिताए । आमाको अभाव र बुबाको कडा सैन्य अनुशासनले उनलाई एकहोरो बनाएको थियो । बर्सेनि स्कुल फेरिँदा यो उमेरमा उनी प्रेमतिर ढल्किन पाएनन् ।

भनिन्छ, 'आमाको मायाको अभावमा मान्छे रुखो बन्छ ।' तर पनि मिजासिला दशरथ खरो स्वभावका थिए रे । उच्च शिक्षाका लागि बनारसतिर लागेका उनी त्यहीवेला भारतीय स्वतन्त्रता संग्राममा होमिए । 'गान्धीगिरी' मन पराउने उनी निक्कै आक्रामक थिए । बनारसबाट आइए पूरा गरेर नेपाल फर्के । यसपटकको नेपाल फिराइसँगै उनको जीवन पनि फेरिएको बताइन्छ । एकातिर उनी क्रान्तिकारी बन्दै गए, अर्कातिर आमाको अभावमा पनि 'माया, ममता र प्रेम' नजिक हुन पगे ।

'झर्रा ठकुरी'लाई दरबारमै राखेर शिक्षा-दीक्षा दिने र छोरीसँग बिहे गराइदिने राणाहरूको चलन थियो । पढेलेखेका ठकुरी दशरथलाई पनि त्यतिवेलाका कमान्डर इन चिफ रुद्रशमशेरले दरबारमा राखे र त्रिचन्द्र कलेजमा भर्ना गरे । हिन्दी बोल्ने, खद्दरको लुगा लगाउने, मिजासिला दशरथले रुद्रशमशेरकी छोरी जुलियानी मैयाको मन जित्न धेरै दिन लागेन । अनुहारभरिका डन्डिफोरले पनि जुलियानीलाई असहजिलो बनाएन । दशरथले पत्तै नपाउने गरी जुलियानीले भित्र-भित्र मन पराउन थालिन् रे ।

रुद्रशमशेरले दशरथलाई बहादुर भवन -हालको निर्वाचन आयोग)मा बस्ने व्यवस्था मिलाएका थिए । जुलियानी गौशाला खण्डमा बस्थिन् भने दशरथ पाहुना घरमा । उनको भेटघाट सायदै हुन्थ्यो । आँखा जुधाउनेसमेत मेसो मिल्दैनथ्यो । गलकोटे राजा भरत बम मल्लले जुलियानीसँग परिचय गराउँदा बोल्न सकेका थिएनन् रे दशरथ । त्यतिवेला दशरथ २८ र जुलियानी १९ वर्षकी थिइन् । दरबार माया-प्रेमका उर्वरभूमि नभई तरबारका लागि चर्चित थियो । दरबारका बालबालिकामार्फत लुकिछिपी चिट्ठी ओहोर-दोहोर गर्थे उनीहरू । इतिहासकार पुरुषोत्तमशमशेरका अनुसार '५-६ वषर्ीया बालिका मीनाक्षीदेवी राणामार्फत चिट्ठी पठाउँथे दशरथ र जुलियानी ।' मीनाक्षी पुरुषोत्तमकी बहिनी हुन् भने पुरुषोत्तम रुद्रशमशेरका नाति । जुलियानीलाई चिट्ठी पठाउँदा मीनाक्षीलाई दशरथ भन्ने गर्थे, 'सानी महारानी, यो चिट्ठी जुलियानी मैया साहेवलाई दिइबक्स्योस् है ।'

दरबारको काँडेतारभित्र झाँगिँदै गएको दशरथ-जुलियानीको माया अरूलाई थाहा हुने कुरै भएन । जुलियानी कति माया गर्थिन् भन्ने कुरा दशरथलाई पनि पत्तै थिएन । आँखा जुधाउन नपाइने, भेट गर्न नसकिने, टाढाबाट हेर्न पनि नपाउने । तर, दूरबिनबाट दरशथलाई खोज्थिन् जुलियानी । जुलियानीले दूरबिनबाट हेर्ने गरेको पत्तो पाएका गलकोटे राजा भरत बम मल्लले सुटुक्क दशरथलाई सुनाए । त्यसपछि भने उनको पनि छटपटी सुरु भो । साता दिनपछि गलकोटे राजा भरतले नै दशरथका लागि पनि दूरबिनको व्यवस्था गरेका थिए । अनि सुरु भो दशरथ-जुलियानीको दूरबिन प्रेम । उनीहरू दूरबिनबाटै दैनिक क्रियाकलाप नियाल्ने र सुमसुम्याउनका लागि लेन्स तान्ने र छोटो पार्ने गर्थे । मायामा कत्रो बार ? सायद बन्धनभित्रकै माया पो चोखो हुन्छ कि ?

वि.सं. १९८९ तिर दरबारमा उनीहरूको बिहेको कुरा पनि चलेको थियो । दशरथले जुलियानीका दाइ ईश्वरमार्फत बिहेको प्रस्ताव गरेका थिए । दशरथ अंग्रेजी अखबार पढेर कमान्डर इन चिफलाई सुनाउने र उनको भाषण लेख्ने गर्थे । बिहे गर्ने पनि ठिक्कठाक भएको थियो । दरबारमा जुटो पर्दा त्यो वर्ष रोकिएको र बिहे अर्को वर्ष पनि हुन पाएन । ५ चैत १९९० मा 'सी क्लास' राणा भनेर रुद्रशमशेरलाई कमान्डर इन चिफबाट हटाएर चार भञ्ज्याङ कटाएएपछि रुद्रको परिवार पाल्पातिर लाग्यो भने दशरथ पनि दरबारबाट बाहिरिए । उनी मामाघर पकनाजोलमा बस्न थाले । श्री ३ को आदेशसँगै दशरथ-जुलियानीको बिहे पनि सदा-सदाका लागि पर सर्‍यो ।

श्री ३ जुद्धशमशेरको आदेशपछि फेरिएको घटनाक्रमले दशरथलाई झन् राणाशासनविरोधी बनायो । यही क्रममा उनको भेट टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरि शर्मासँग भयो । २० जेठ १९९२ मा धर्मभक्तको घरमा गोप्य रूपले 'नेपाल प्रजा परिषद्'को स्थापना गरे उनीहरूले । भूमिगत संगठन प्रजा परिषद्को अध्यक्ष टंकप्रसाद आचार्य, उपाध्यक्ष दशरथ र सचिव रामहरि शर्मा थिए । २० सदस्यीय समितिमा उनीहरूको उपनामहरू राखियो । दशरथ 'सेवासिंंह', टंकप्रसाद 'प्रकाश', रामहरि 'हरेराम' र धर्मभक्तलाई 'अजबबहादुर'को नामले पुनः न्वारान गरे उनीहरूले नै । भारतबाट प्रकाशित हुने 'जनता' पत्रिकामा दशरथ राणाविरोधी लेख प्रकाशित गर्न थाले । सेवासिंहको नामले चर्चित भएपछि फेरि नाम फेरे दशरथले 'सुशील' भनेर ।

यो समय दशरथका लागि कठिन रह्यो । एकातिर जुलियाको मायाले छटपटाउँथे भने अर्कातिर भूमिगत भएर राणाशासनविरोधी गतिविधिमा सक्रिय हुनुपथ्र्यो । कहाँ भूमिगत दशरथ, कहाँ सजाय पाएर पाल्पा धपाइएका रुद्रशमशेर । त्यसवेला जुलियानीलाई त परै जाओस् रुद्रशमशेरलाई भेट्न पनि गाह्रो थियो । तैपनि जुलियानीप्रतिको अगाध माया कम हुने कुरै भएन । दूरीले छेकेको थिएन दशरथ-जुलियानीको मायालाई । दूरबिनी माया हुलाकीमा बदलियो । उनीहरूका लागि मनका कुरा साट्ने माध्यम बनेको थियो चिट्ठी । चिट्ठी ओहोर-दोहोर गर्ने हुलाकी बनेका थिए- साने ड्राइभर । पाल्पा दरबार र काठमाडौं ओहोर-दोहोर गर्ने साने ड्राइभर गोप्यरूपले उनीहरूको लभलेटर बोक्थे । त्यतिवेलाको कमसल र सस्तोखाले 'लालटिनमार' चुरोटको बट्टाभित्रको कागजमा प्रेमपत्र लेख्थे दशरथ । साना अक्षरले लेखिएको कागज चुरोटजस्तै बेरेर सुर्ती भरेर त्यही लालटिनमार चुरोटको बट्टाभित्र चुरोटको खिल्लीसँगै राखिन्थ्यो । त्यसलाई साने कसैले पत्तो नपाउने गरी ओसार्थे ।

ठिक्क पारिएको बिहे नहुनु, दशरथ राणाविरोधी आन्दोलनमा होमिनु र रुद्र दरबारबारबाट खेदिएपछि कहिल्यै भेट नहुनुले यी ऐतिहासिक पुरुषको प्रेम-कहानी अपूरो भयो । यता यस्तै अनेकथरी चिन्ताको सिकार बनेकी जुलियानी क्षयरोगले ग्रसित भइन् र उनको ज्यानै गयो । योे खबरले दशरथ पागलजस्तै भएका थिए र मामाघरमै जुठोसमेत बारेका थिए । दशरथका मामाका छोरा तिलकराज शाहीका अनुसार उनकी सानीआमाले 'किन जुठो बारेको भनेरसमेत प्रश्न गर्दा उनी नाजवाफ भएका थिए । जुलियानीको मृत्युपछि दशरथ झन् राणाशासनप्रति आक्रामक बने । घरपरिवारले बिहेको चर्चा गरे पनि उनी बिहेप्रति सकारात्मक थिएनन् । जुलियानीे गुमाउनुको पीडा राणाशासनविरोधी ऊर्जा बन्न पुग्यो उनका लागि ।

प्रजा परिषद्का राणाविरोधी गतिविधि बढ्न थाले । त्यही क्रममा १९९७ जाउलाखेलको भोटो देखाउने दिन राणाशासनविरोधी पर्चाहरू व्यापक रूपमा छरिए । र, दशरथसँगै पाँच सयजना पक्राउ परे । ६ माघ १९९७ मा श्री ३ सरकारले फैसला सुनायो फाँसीको । दशरथसँगै धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई सर्वस्वहरणसहित फाँसी, केहीलाई आजन्म काराबास, केहीलाई चार भञ्ज्याङ कटाउने फैसला थियो । फाँसीको फैसला सुनाएर सिंहदरबार लग्ने वेला उनले अन्य साथीहरूलाई भनेका थिए, 'तुम लोग तो जिएँ हो दोस्त, काम करो । हमतो चलेही जाएँगे लेकिन फिरभी भूत बनकर यिन राणा लोगोको सताएँगे ।'

फैसलाको आठ दिनपछि १४ माघ १९९७ को औंसीको रात । आँखामा पट्टी बाँधेर दशरथ र गंगालाललाई शोभा भगवतीमा लगियो । नरशमशेरको नेतृत्वमा टोली खटाइएको थियो । उनी दशरथ र गंगालाललाई माफी मगाउन चाहन्थे । त्यसैले जल्लादलाई खुट्टामा गोली हान्न लगाइयो । खुट्टामा गोली हानेपछि माफी माग्नुको सट्टा गाली गरेर कराउन थाले दशरथ र गंगालाल । रिसले चुर भएका नरशमशेरले जल्लादभन्दा अगाडि सरेर आफैले गोली हाने । पाँच गोलीमा दशरथ र गंगालालको इहलीला सकियो ।

कालो आंैसीको रातसँगै दशरथको प्राण अन्त गरिए पनि उनको भौतिक शरीर शोभा भगवतीमै थियो । इस्टकोटको एउटा खल्तीमा सेतो रुमाल, अर्को खल्तीमा फाउन्टेन पेन र देब्रे हातमा घडी थियो । अनि उनकी प्रेयसी जुलियानी मैयाले दिएको खास्टो उनले नै ओढाइदिएझै ओढेका थिए दशरथले । अन्तिम वेलासम्म पनि जुलियानीको माया संगालेर राखे खास्टोसँगै उनले । फाँसीको सजाय सुनेपछि मृत्यु कुरिराख्दा होस् या मृत्युको क्षणमा होस् उनलाई भेट्न कोही गएनन् । तत्कालीन ८१ लाख ८२ हजार नेपालीलाई जहानियाँ राणाशासनको पञ्जाबाट मुक्त गर्न बलि चढ्दा पनि उनका लागि रोइदिने कोही भेटेनन् । त्यसैले त उनले बलि चढ्नुअघि आप\mनै मृत्युमा रोइदिने मान्छे खोजे किनकि उनको मृत्युमा रुन न उनकी ममतामयी आमा थिइन् न त अजम्मरी प्रेमिका जुलियानी मैया नै । बच्चु विक 2068-4-15 from Nayapatrika daily

No comments: